भारत महिला विश्वकप क्रिकेट च्याम्पियन

मुम्बई, १७ कात्तिक । भारतले दक्षिण अफ्रिकालाई ५२ रनल हराएर महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ । विश्व क्रिकेटले आइतबार राति महिला क्रिकेटमा नयाँ विश्व च्याम्पियन पाएको हो । यसअघि अस्ट्रेलिया, इङगल्यान्ड र न्युजिल्यान्डले मात्र महिला विश्वकपको उपाधि जितेका थिए ।

प्रारम्भिक ब्याटर सेफालीले ७८ बलमा ८७ रन बनाएपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारीत ५० ओभरमा सात विकेटको क्षतिमा २९८ रन बनाएको थियो । दक्षिण अफ्रिकाले ४५.३ ओभरमा २४६ रनमात्र बनाउनसक्यो ।

कप्तान लरा भोल्भार्डले १०१ रनको शतकीय पालि खेलेर पनि दक्षिण अफ्रिकालाई विजेता बनाउन सकिनन् स्पीनर दिप्तीले ९.३ ओभरमा ३९ रनमा पाँच विकेट लिएपछि जिततर्फ अग्रसर दक्षिण अफ्रिकाको पालि धराशायी भएको हो ।

यसअघि भारतका लागिे स्मृति मन्धानाले ४५, जेमिमा रोड्रिगेजले २४, दिप्तीले ५८ बलमा ५८ रन, ऋचा घोसले २४ बलमा ३४ तथा कप्तान हरमनप्रीत कौरले २० रनको योगदान दिएका थिए ।

फाइनलमा अलराउन्ड प्रदर्शन गर्ने सेफाली उत्कृष्ट खेलाडी बनिन् । दिप्ती प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित भइन् । दक्षिण अफ्रिकाकी कप्तान लराले प्रतियोगितामा ७१.३७ को औसतमा सबभन्दा बढी ५७१ रन बनाइन् ।