बिमा दावी गर्ने ६ जना नक्कली दावीकर्ता पक्राउ
काठमाडौँ, कार्तिक १९ । प्रहरीले नक्कली बीमा दाबी गरी ठगी गर्ने कार्यमा संलग्न छ जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, सोमबार ललितपुर गोदावरी नगरपालिका- १४ का ३६ वर्षीय सुनिल महर्जन, सोही ठाउँका ३३ वर्षीय विकेश कुँवर, काठमाडौं महानगरपालिका- १२ का ५१ वर्षीय बिनोद डंगोल, सर्लाही इश्वरपुर नगरपालिका- ३ का ३९ वर्षीय सुनिल सापकोटा, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका- २ का ४८ वर्षीय हरिप्रसाद गौतम, र बारा निजगढ नगरपालिका- ६ का ४५ वर्षीय मनोजकुमार आचार्यलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरूले नक्कली सवारी दुर्घटनाहरू खडा गरी बीमा रकम दाबी गर्ने गरेको पाइएको छ ।
बोहोराले भन्नुभयो, “नक्कली सवारी दुर्घटना खडा गरी सरकारी कार्यालयको नक्कली कागजात तथा छाप प्रयोग गरेर, नक्कली घाइते खडा गरी घाइतेको उपचारसमेत अस्पतालमा गरेको भनी नक्कली कागजात बनाएको भेटिएको हो ।” उहाँका अनुसार, उनीहरूले उक्त नक्कली विवरण पेश गरी नेपाल माइक्रो इन्सुरेन्स कम्पनीबाट बीमा रकम दाबी गरेका थिए । प्रहरीले पैसा भुक्तान गराउने उक्त कम्पनीका कर्मचारीलाई समेत नियन्त्रणमा लिएको एसपी बोहराले बताउनुभयो।
पक्राउ परेकाहरूलाई लिखतसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
