कैलालीमा धान बिक्री गर्न किसानहरूकाे रातभरी लाइन, पूर्वाधार अभावले सास्ती

कैलाली, २१ कात्तिक। कैलालीमा सरकारले धानको समर्थन मूल्य तोकेर खरिद सुरु गरेपछि किसानहरू उत्साहित भए पनि खरिद प्रक्रियाको ढिलाइ र पूर्वाधारको कमीले उनीहरूको उत्साह निराशामा परिणत हुँदै गएको छ।

घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरीलाई धान बेच्नका लागि चार दिन लाग्यो भने भजनी–४ का राजकुमार चौधरीलाई पनि त्यति नै समय लाग्यो। किसानहरूले सरकारी खरिद केन्द्रमा धान बेच्नका लागि दिनरात लाइनमा बस्नुपरेको छ।

घोडाघोडीका किसान विष्णु चौधरीले धान बेच्न यति धेरै दुःख कहिल्यै नभएको बताउनुभयो। “बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातमा डल्लाफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ,” उहाँले भन्नुभयो। उहाँजस्तै धेरै किसानहरू अहिले सरकारी खरिद केन्द्रमा दिनरात लाइनमा उभिरहेका छन्।

यस वर्ष सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ तोकेको छ। बजारमा व्यापारीहरूले कम रकममा धान किन्ने गरेकाले किसानहरू सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन्।

खरिदमा ढिलाइको कारण:
जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिए पनि मौसमका कारण कात्तिक १६ गतेदेखि मात्र धान खरिद सुरु भएको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढाले बताउनुभयो। प्रतिकिसान ५० क्विन्टलका दरले धान खरिद भइरहेको छ। बुढाका अनुसार खरिदमा ढिलाइ हुनुको प्रमुख कारण पूर्वाधारको कमी हो। “धान खरिदका लागि एउटा काटामात्र सञ्चालनमा छ। किसानको समस्यालाई मध्यनजर गरी नगरपालिकासँग समन्वय गरी अर्को काटा थप्ने तयारी गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

आर्थिक अवस्थामा प्रभाव:
कैलाली जिल्लाको मुख्य आम्दानीको स्रोत धानलगायत अन्य बाली हो। किसानहरूले वर्षभरिको मेहेनत यही बालीमा लगाउँछन्। धान बेच्नु उनीहरूका लागि व्यापार मात्र नभई परिवारको जीविकोपार्जनको आधार पनि हो। तर धान बिक्रीमा ढिलाइ हुँदा किसानको आर्थिक अवस्था प्रभावित भएको छ। खेतमा नयाँ बाली लगाउनका लागि रकम चाहिने र धान नबेचेसम्म नगद हातमा नआउने समस्या छ। घोडाघोडीकी रमिता चौधरीले धान बेचेपछि तिरौला भनेर सापटी मागेर घर खर्च चलाएको बताउनुभयो।

१३ खरिद केन्द्र, ३५ हजार क्विन्टलको लक्ष्य:
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानी १३ वटा खरिद केन्द्रहरू सञ्चालन गरिरहेको छ। जसअन्तर्गत नेपालभरि नै कैलालीबाट धान खरिद सुरु गरेको छ। भजनी, मोहनपुर, सत्ती, गौरीगङ्गा, जोशीपुर र टीकापुर गरी जिल्लाका छवटा खरिद उपकेन्द्रमार्फत धान खरिद भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रमुख दीपक थापाले जानकारी दिनुभयो।

कैलालीमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएकोमा हिजोसम्म नौ हजार क्विन्टलभन्दा बढी खरिद भइसकेको छ। थापाले सरकारी समर्थन मूल्यमा नै धान खरिद गरिरहेको र बजारमा मूल्य कम पाउने गरेका कारण सबै किसान खरिद केन्द्रमै आएकाले निकै भीड भएको बताउनुभयो।

जनशक्ति र कागजातको जटिलता:
अर्को समस्या जनशक्ति र पूर्वाधारको कमी हो। प्रदेश कार्यालयमा कर्मचारीको दरबन्दी कम हुने भएकाले अछाम, बाजुरा, बझाङ, कालिकोटबाट कर्मचारी ल्याइएको थापाले बताउनुभयो। “यसपटक सरकारको बजेटमा नै धान खरिद गरेबापत रकम किसानको खातामा हाल्ने व्यवस्था गरेकाले कागजातहरू मिलानका लागि एक जना कर्मचारी त्यही व्यस्त हुन्छन्। त्यसैले धान खरिदमा केही जटिल भएको छ,” उहाँले भन्नुभयो। एक उपकेन्द्रमा दुई जना कर्मचारी खटाइएको छ।
बिहान १०:०० बजेबाट ४:०० बजेसम्म धान खरिद गर्नुपर्ने भए पनि किसानको चापका कारण बिहान ८:०० बजेदेखि सुरु गरी बेलुका ९:०० बजेसम्म नै धान खरिद गरिरहेको उहाँले बताउनुभयो।