नेपाल प्रिमियर लिग

कर्णाली याक्सले दियाे चितवन राइनोजलाई १६७ रनको लक्ष्य

काठमाडौँ, २ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणअन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रनको योगफल बनाएको हो।

कर्णालीका लागि ओपनर प्रियाङ्क पन्चालले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ९० रनको योगदान दिए। उनी शतक बनाउनबाट मात्र १० रनले चुके। पहिलोपटक एनपिएल खेलिरहेका पन्चालले ४८ बलमा ७ चौका र ६ छक्काको मद्दतमा यो रन जोडेका हुन्। यस संस्करणमा अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन्।

त्यसैगरी, कर्णालीका लागि म्याक्स ओडाउडले ३० बलमा १ चौका प्रहार गर्दै २० रन बनाए। मार्क वाटले २१ बलमा १ चौकाको सहयोगमा १६ रन जोडे भने पवन शर्राफले अविजित २७ रन र नाजिबुल्लाह जद्रानले अविजित ४ रन बनाए।

अहिले चितवन राइनोजले कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ।