काठमाडौंकाे नयाँ बसपार्कमा फेला परेको शव ९ दिनअघि नै हत्या भएको खुलासा, पाँच सय रूपैयाँ फिर्ता नगर्दा गरिएकाे थियाे हत्या
काठमाडौं । काठमाडौंको बसपार्कमा मृत फेला परेकी युवतीको शव ९ दिनअघि नै हत्या भएको खुलेको छ। शनिबार बिहान टोखा नगरपालिका-९ स्थित बसपार्क नजिकै सडक छेउमा पोको पारिएको अवस्थामा फेला परेको शव माया भन्ने आयुषा मगरको रहेको पुष्टि भएको छ।
प्रहरीको अनुसन्धानबाट मायाको हत्या कात्तिक २६ गते मध्यराति नै भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मायाको हत्या आरोपमा २४ वर्षीय सूर्य थापा मगरलाई पक्राउ गरिएको छ। उनी एक होटलका कुक हुन्।
मायाको हत्या एक साताभन्दा अगाडि नै भए पनि शनिबार बिहानसम्म शवको गन्ध नआएको र गन्ध आउन थालेपछि मात्र स्थानीयले प्रहरीलाई खबर गरेका थिए। एसपी भट्टराईले भन्नुभयो, “शवको गन्ध नआओस् भनेर पहिले प्लास्टिकमा, फेरि तन्ना र फेरि प्लास्टिकले पोको पारेको देखियो।”
मृतकको शरीरमा बेरिएको तन्नामा १४५५ नम्बरको ट्याग उल्लेख गरिएको थियो। प्रहरीले यही ट्यागको आधारमा अनुसन्धान गर्दै जाँदा सूर्य थापा मगरसम्म पुगेको हो। अनुसन्धानका क्रममा होटल रोयल कुन्डलाको स्टाफ रूममा रहेको तन्नाको रङ र तकियाको खोलमा सोही १४५५ नम्बरकै ट्याग फेला परेको थियो। यद्यपि, यस घटनाबारे होटलका साहु र म्यानेजर बेखबर रहेको बताइएको छ।
मृतक मायाकी साथी डोल्मा बमजन र सूर्य कात्तिक २५ गते उक्त होटलमा पुगेका थिए। होटलको टपमा रहेको स्टाफ रूममा गफ गर्ने क्रममा मृतक मायाले सूर्यसँग ५०० रुपैयाँ मागेकी थिइन्। माया लागुऔषध ब्राउन सुगर सेवनकर्ता थिइन् र सोही किन्न उनले सूर्यसँग पैसा लिएकी थिइन्। सूर्य भने अत्यधिक मापसे गर्थे।
ब्राउन सुगर किनेर फर्केपछि सूर्यले आफ्नो पैसा फिर्ता माग्दा मायाले “तेरो पैसा दिन्नँ” भनेपछि दुई जनाबीच विवाद सुरु भएको थियो। आवेशमा आएका सूर्यले जुत्ताको तुनाले घाँटीमा बेरेर मायाको हत्या गरेको आरोप छ। हत्या गरेपछि उनले दुई पटक मुक्का समेत प्रहार गरेको प्रहरीले जनाएको छ।
कात्तिक २६ बिहान १:५२ बजे मृतकको शव बोकेर लगेको होटलको सिसिटिभी फुटेजमा समेत देखिएको छ। सूर्यले आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ।