सूचना प्रविधि प्रयोग गरी नेपाः भाषा संरक्षण गर्न ललितपुर महानगरप्रमुखको आग्रह
ललितपुर, १२ मङ्सिर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपाः भाषा मंका खलःका नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई सूचना प्रविधिको अधिकतम उपयोग गरी नेपाः भाषाको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ।
नेपाः भाषा मंका खलःको १४औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्न महानगरले आयोजना गरेको कार्यक्रममा प्रमुख महर्जनले भाषा, संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर सबैसँग सहकार्य र समन्वयका साथ काम गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “मंका खलःले भाषा, संस्कृतिको क्षेत्रमा विज्ञहरूलाई छनोट गरेर काम गर्न आवश्यक छ। ललितपुर महानगरले नेपाः भाषा संरक्षण र संवर्द्धनका लागि मंका खलःलाई जुनसुकै सहयोग गर्न तयार छ।” महानगर प्रमुखले बजेटको कुनै कमी हुन नदिने र सूचना प्रविधिको प्रयोग गरी नेपाः भाषालाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्न आवश्यक रहेकोमा जोड दिनुभयो।
मंका खलःका अध्यक्ष महेन्द्रलाल महर्जनले आजकल नेपाः भाषाको प्रयोग कम हुँदै गएकाले समस्या सिर्जना भएको बताउँदै परिवारबाट नै यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले लोकसेवा आयोगको परीक्षामा समेत नेवारी भाषालाई समावेश गराउन मंका खलले प्रयास गर्ने बताउँदै यसका लागि महानगरलगायत सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपाः भाषा मंका खलःले नेवारी भाषाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। भाषा र संस्कृति संरक्षणका लागि महानगरले स्थानीय पाठ्यक्रम लागू गरेको जानकारी गराउँदै उहाँले नेवारी भाषा लोप हुने अवस्थामा पुगेकाले भाषा र लिपिको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो। देशविदेशमा रहेका नेवारी समुदायका मानिसलाई एकताबद्ध गर्नु पनि आवश्यक रहेको उपप्रमुख बज्राचार्यको भनाइ थियो।