एमाले ओखलढुङ्गाको महाधिवेशन प्रतिनिधि चयन बदर, ५ दिनभित्र पुनः प्रक्रिया थाल्न केन्द्रको निर्देशन

काठमाडौँ, १७ मङ्सिर । नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्लाको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया रद्द गरेको छ। एकलौटी ढंगले प्रतिनिधि चयन गरिएको भन्दै उजुरी परेपछि केन्द्रले उक्त निर्णय बदर गर्दै पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

एमाले केन्द्रीय कार्यालयले ओखलढुङ्गा जिल्ला कमिटीलाई पत्राचार गर्दै ५ दिनभित्र विधिपूर्वक पुनः निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ।

किन भयो बदर ?
एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्दा पार्टीको अन्तरपार्टी निर्देशन (अपानि–१३) उल्लङ्घन गरिएको केन्द्रको ठहर छ। जिल्लाका आठमध्ये ६ वटा पालिका कमिटीले प्रक्रियामा असहमति जनाएको, बहुसंख्यक इच्छुक उम्मेदवारहरूको विरोध रहेको तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेत पालना नगरिएकाले यसअघिको चयन मान्य नहुने निर्णय केन्द्रले गरेको हो।

पालिकास्तरमै मतदान केन्द्र राख्नुपर्ने
केन्द्रीय कार्यालयले अब हुने छनौट प्रक्रियामा सदरमुकाममा मात्र नभई पालिकास्तरमै मतदान केन्द्र स्थापना गर्न कडा निर्देशन दिएको छ। सबै आम संगठित सदस्यहरूलाई प्रभावकारी माध्यमबाट सूचना प्रवाह गरी पारदर्शी रूपमा निर्वाचन गराउन भनिएको छ।

निर्वाचन प्रक्रियालाई विवादरहित र सहज बनाउन कोशी प्रदेश इन्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरू विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई आवश्यक समन्वय र सहजीकरणको जिम्मेवारी तोकिएको छ।

ओखलढुङ्गा एमालेमा नेता अम्बिरबाबु गुरुङ र यज्ञराज सुनुवार पक्षबीच लामो समयदेखि शक्ति संघर्ष चल्दै आएको छ। गत शनिबार गुरुङ पक्षले सदरमुकाममा मात्रै निर्वाचन केन्द्र राखेर गरेको मतदानमा १ हजार ५ सय १८ मत खसेको थियो। उक्त प्रक्रियालाई एकलौटी भन्दै सुनुवार पक्षले केन्द्रमा उजुरी दिएपछि पुरानो प्रक्रिया रद्द भई नयाँ निर्देशन आएको हो।