यस वर्ष हिउँदको मौसम

यस वर्षको हिउँदमा सुक्खा बढ्ने : वर्षा कम, तापक्रम सरदरभन्दा बढी रहने प्रक्षेपण

काठमाडौँ, १८ मङ्सिर । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँद मौसम (मङ्सिर १५ देखि फागुन १६ गतेसम्म) को हावापानीसम्बन्धी आकलन सार्वजनिक गरेको छ। विभागको प्रक्षेपण अनुसार यस पटकको हिउँदमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम (अधिकतम तथा न्यूनतम) सरदरभन्दा बढी रहने सम्भावना देखिएको छ ।

विभागले बुधबार सार्वजनिक गरेको विवरण अनुसार यो हिउँदमा वर्षाको मात्रा घट्ने देखिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार वर्षाको सम्भावनालाई वर्गीकरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बाग्मतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागहरूमा ५५ देखि ६५ प्रतिशत कम वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भूभाग, लुम्बिनीका मध्य तथा पूर्वी भूभाग, गण्डकीका पूर्वी भूभाग, बाग्मतीका मध्य तथा उत्तरी भूभाग, मधेसका दक्षिणी भूभाग र कोशी प्रदेशका केही भूभागहरूमा ४५ देखि ५५ प्रतिशत कम वर्षा हुने सम्भावना छ ।

देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग तथा गण्डकी प्रदेशका उत्तर–पश्चिम भूभागमा भने सरदरभन्दा कम, सरदर वा सरदरभन्दा बढी वर्षा हुने सम्भावना समान (३३ देखि ३३ प्रतिशत) रहेको छ ।

यस हिउँदमा दिनको समयमा महसुस हुने अधिकतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने प्रक्षेपण गरिएको छ।

गण्डकी प्रदेशका उत्तरी र दक्षिणी भूभाग, बाग्मतीका दक्षिणी भूभाग र कोशीका उत्तरी तथा दक्षिण–पश्चिम भूभागमा अधिकतम तापक्रम उच्च सम्भावना (५५-६५%) सरदरभन्दा बढी हुने सम्भावना प्रबल छ । कर्णाली र लुम्बिनी प्रदेशका उत्तरी भूभाग तथा कोशी, बाग्मती र गण्डकी प्रदेशका बाँकी भूभागहरूमा मध्यम सम्भावना (४५-५५%), सुदूरपश्चिम, कर्णाली प्रदेशका दक्षिण–पश्चिम भूभाग र लुम्बिनी प्रदेशका पश्चिम भूभागमा न्यून सम्भावना (३५-४५%), लुम्बिनी प्रदेशका दक्षिणी भूभाग र मधेस प्रदेशमा भने अधिकतम तापक्रम सरदरभन्दा कम, सरदर वा बढी हुने सम्भावना समान रहेको विभागले जनाएको छ।

रातको समयमा वा बिहानपख महसुस हुने न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी नै रहने देखिन्छ । जसले गर्दा अत्यधिक चिसो कम महसुस हुन सक्छ ।

सुदूरपश्चिम प्रदेशका उत्तरी र दक्षिण-पश्चिम भूभाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग, लुम्बिनी र मधेस प्रदेशका अधिकांश भूभाग, बाग्मती प्रदेशका उत्तर–पूर्व र दक्षिण-पश्चिम भूभाग तथा कोशी प्रदेशका दक्षिण र उत्तर–पश्चिम भूभागहरूमा बढी तापक्रम हुने उच्च सम्भावना (५५-६५%), देशका अन्य बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाइएको छ ।

समग्रमा, यस वर्षको हिउँदमा पानी कम पर्ने र तापक्रम बढ्ने भएकाले सुक्खापन बढ्न सक्ने र चिसोको कडापन विगतका वर्षहरूको तुलनामा केही कम हुन सक्ने विभागको निष्कर्ष छ ।