मधेशमा नयाँ सरकारः आज मुख्यमन्त्रीको शपथ, मन्त्रालय बाँडफाँटमा यसरी जुट्यो सहमति

 

जनकपुरधाम, २१ मङसिर  । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै आज शपथ ग्रहण कार्यक्रम तय गरिएको हो।

शनिबार राति अवेरसम्म चलेको दलहरूको बैठकले मन्त्रालय भागबन्डामा मोटामोटी सहमति जुटाएको छ। बैठकमा भएको सहमति अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) सहितको वाम घटकले सरकारका तीन मन्त्रालय सम्हाल्ने गरी सहमति बनेको स्रोतले जनाएको छ।

नेतृत्वकर्ता दल नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित दुई मन्त्रालय राख्ने भएको छ भने जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने गरी प्रारम्भिक सहमति भएको छ।

त्यस्तै, गठबन्धनको अर्को घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि सरकारमा दुई मन्त्रालयको जिम्मेवारी पाउने भएको छ। मन्त्रालयको टुंगो लागेसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिएको छ।