हजरत कम्मर शाह बाबा’ को मजार

धार्मिक सद्भावको अनुपम नमूना : बाँकेको ‘कम्मर शाह मजार’

काठमाडौँ, मंसिर २५ । बाँकेको डुडुवा गाउँपालिका-५, कम्दीस्थित ‘हजरत कम्मर शाह बाबा’ को मजार धार्मिक तथा सामाजिक सद्भावको उत्कृष्ट केन्द्रविन्दुका रूपमा स्थापित भएको छ । बाबाको स्मृतिमा यहाँ सञ्चालन भइरहेको मेलामा हिन्दू तथा मुस्लिम दुवै समुदायका हजारौँ श्रद्धालुहरूले एकसाथ सहभागी भई पूजाअर्चना गर्ने र वर माग्ने परम्पराले आपसी एकताको सन्देश प्रवाह गरिरहेको छ ।

डुडुवा गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको छ । फरक धार्मिक आस्था भए पनि दुवै समुदायले मजारमा पुगेर सामूहिक रूपमा श्रद्धा प्रकट गर्ने यहाँको मौलिक विशेषता हो । वडा नं. ५ का वडाध्यक्ष झङ्कबहादुर थापाका अनुसार, मजारमा भेदभाव रहित वातावरण छ । उहाँले भन्नुभयो, “यहाँ संरक्षण र व्यवस्थापन समितिमा समेत सबै धर्म र जातजातिका स्थानीयको समान प्रतिनिधित्व छ । यो मेला धार्मिक सहिष्णुताको जीवित उदाहरण बनेको छ ।”

मजार व्यवस्थापन समितिका अध्यक्ष सगिर खाँले मेलामा सबै धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति रहने गरेको बताउनुभयो । कम्मर शाह बाबालाई एक सिद्धिप्राप्त साधकका रूपमा सम्मान गरिन्छ । मजारमा पुगेर आशीर्वाद मागेमा मनोकाङ्क्षा पूरा हुने गहिरो जनविश्वास रहेकाले हिन्दू र मुस्लिम दुवै समुदायको आस्था यहाँ जोडिएको अध्यक्ष खाँको भनाइ छ ।

स्थानीय अगुवा शकील खानका अनुसार, कम्मर शाह बाबाले आफ्नो जीवनकालमा धर्म वा सम्प्रदाय नहेरी निस्वार्थ रूपमा मानव कल्याणका लागि काम गर्नुभएको थियो । उहाँको सोही मानवतावादी गुणका कारण मजार वर्षौँदेखि सबैको साझा तीर्थस्थल बन्न पुगेको हो ।

यस मजार र मेलाले दुई देशबीचको जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाएको छ । स्थानीय अगुवा डम्बर बुढाथोकीका अनुसार मेला भर्न बाँके जिल्लाका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय सहरहरू बाबागञ्ज, नानपारा र श्रावस्तीबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालुहरू आउने गरेका छन् । यो मेला सामाजिक सद्भाव, आपसी एकता र भाइचारा अभिवृद्धिका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बुढाथोकीले बताउनुभयो ।