विदेश पठाउने बहानामा ४९ लाख ठगी, तीन जना पक्राउ
काठमाडौँ, ४ पुस । वैदेशिक रोजगारीका लागि अमेरिका, क्यानडा र अल्बानिया पठाइदिने प्रलोभनमा पारी ४९ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने भन्दै रकम लिएर सम्पर्कविहीन भएका तीन जनालाई बिहीबार नियन्त्रणमा लिएको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेहरूले कुल ४९ लाख १४ हजार ५०० रुपैयाँ ठगी गरेको खुल्न आएको छ।
को–को भए पक्राउ?
१. पवित्रप्रकाश अधिकारी (५४ वर्ष): कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ बस्ने अधिकारीले अल्बानिया पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
२. बबिता विश्वकर्मा (३३ वर्ष): भोजपुर षडानन्द नगरपालिका–१२ घर भई हाल काठमाडौँ बस्ने विश्वकर्माले क्यानडा पठाइदिने भन्दै १९ लाख रुपैयाँ लिएकी थिइन्।
३. सिरज सुवेदी (२५ वर्ष): भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने सुवेदीले अमेरिका पठाइदिने प्रलोभनमा ११ लाख १४ हजार ५०० रुपैयाँ ठगी गरेको पाइएको छ।
रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए।