फोहोरबाट ‘मोहर’ कमाउँदै व्यास नगरपालिका: ५ महिनामा १० लाखभन्दा बढी आम्दानी

तनहुँ, ८ पुस । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहोरलाई आम्दानीको स्रोत बनाउँदै उदाहरणीय कार्य गरेको छ । नगरपालिकाले विगत पाँच महिनाको अवधिमा पुनः प्रयोगयोग्य फोहोरजन्य वस्तु बिक्री गरेर १० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्ममा १० लाख ५९ हजार ७०४ रुपैयाँ आम्दानी भएको छ । नगरपालिकाले सङ्कलित फोहोरबाट पानीका बोतल, आल्मुनियम, टिन, फलाम, पुराना कागज, किताब, गत्ता र सिसा छुट्याएर बिक्री गरेको थियो ।

फोहोरमैला व्यवस्थापनमा चुनौती खेपिरहेको नगरपालिकाले पछिल्लो समय ‘स्रोतमा नै वर्गीकरण’ गर्ने नीति लिएको छ । “हामीले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्न थालेका छौँ,” लम्सालले भने, “बिक्री गर्न मिल्ने नकुहिने फोहोरलाई वर्गीकरण गरी आयआर्जनमा जोडिएका हौँ ।”

नगरपालिकाले सरसफाइ विज्ञ कृष्ण भण्डारीको प्राविधिक सल्लाहमा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाएको हो । भण्डारीले यसअघि धनगढी र वालिङ जस्ता सहरमा फोहोर व्यवस्थापनको सफल नेतृत्व गरिसकेका छन् ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेका अनुसार नकुहिने फोहोरभित्रका प्लास्टिक र कागजलाई मेसिनले कम्प्रेस (खाँदेर) गरी बाहिर पठाउने गरिएको छ । यस्तै, कुहिने फोहोरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्न थालिएको छ ।

“विगत ३२ वर्षदेखि फोहोर व्यवस्थापनको स्थायी समाधान हुन सकेको थिएन,” नगरप्रमुख न्यौपानेले भने, “अहिले हामीले टोल, वडा र विद्यालय स्तरमै पुगेर फोहोर वर्गीकरण गर्न सिकाएका छौँ, जसको सकारात्मक नतिजा देखिन थालेको छ ।”

नगरपालिकाले हाल बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक करिब ११ टन फोहोर सङ्कलन गर्दै आएको छ । फोहोरलाई समस्याका रूपमा मात्र नहेरी यसलाई आम्दानी र ऊर्जासँग जोडेपछि व्यास नगरपालिकाको यो मोडेल अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी बनेको छ ।