शीतलहरले उदयपुरको जनजीवन कष्टकर : बालबालिका र वृद्धवृद्धा बढी मारमा

उदयपुर, १३ पुस । विगत केही दिनदेखि चलेको शीतलहर र अत्यधिक चिसोका कारण उदयपुरको सदरमुकाम गाईघाटसहित त्रियुगा नगरपालिका क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ । बाक्लो कुहिरोसँगै बढेको चिसोले गर्दा विशेषगरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य र दैनिकीमा समस्या देखिएको छ ।

त्रियुगा नगरपालिकाका जोगीदह, मोथ्याई, बगाहा, गाईघाट र लक्ष्मीपुर लगायतका क्षेत्रमा शीतलहरको प्रभाव बढी देखिएको छ । स्थानीयवासी देवलाल चौधरीका अनुसार चिसोका कारण मानिसहरू घरबाहिर निस्कन मुस्किल परेको छ । जोगीदह हाडखोलाका कृष्णदेव चौधरीले विगत तीन दिनदेखि लगातार शीतलहर चलिरहेकाले वृद्धवृद्धाहरू घरभित्रै ‘घुर’ (आगो) तापेर बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

चिसोका कारण कृषि र पशुपालन क्षेत्र समेत प्रभावित भएको छ । वनजङ्गल र खेतबारीमा गएर घाँसदाउरा गर्न नसक्दा गाईवस्तुलाई आहाराको समस्या हुन थालेको स्थानीयको गुनासो छ ।

अत्यधिक चिसोको प्रत्यक्ष असर विद्यालय जाने बालबालिकामा देखिएको छ । मोथ्याईका स्थानीय रामकृष्ण राजधामीले साना बालबालिकाहरू चिसोका कारण विद्यालय जान नसक्ने अवस्था आएको बताउनुभयो ।
सत्यदेवी माध्यमिक विद्यालय, भुल्केकी शिक्षिका सम्झना आचार्यका अनुसार चिसो बढेसँगै कक्षा ५ भन्दा मुनिका विद्यार्थीहरूको उपस्थिति ह्वात्तै घटेको छ । यस्तै, जनता आधारभूत विद्यालय असारीका शिक्षक कृष्ण दनुवारले पनि कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरू चिसोका कारण विद्यालय आउन छाडेको जानकारी दिनुभयो ।

विगत केही दिनदेखि घाम नलाग्दा सर्वसाधारणले झन् सास्ती खेप्नुपरेको छ । त्रियुगा नगरपालिका–२ खैजनपुरका रमेश कार्कीले घाम नलागेका कारण मानिसहरूको आवतजावत ठप्प जस्तै भएको र दैनिक कामकाज प्रभावित भएको बताउनुभयो । चिसो अझै बढ्ने सङ्केत देखिएकाले स्वास्थ्यकर्मीहरूले बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गर्न र न्यानोमा बस्न सुझाव दिएका छन् ।