रास्वपाको बन्दसूची लोकप्रिय मत ल्याउनेहरू पछि धकेलिए, बालेन र उज्यालो नेपालको दबदबा

काठमाडौँ, १५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा पार्टीको आन्तरिक ‘प्राइमरी इलेक्सन’ को नतिजा र अन्तिम प्राथमिकता क्रमबीच ठूलो अन्तर देखिएको छ।

पार्टीले उम्मेदवार छनोटका लागि लोकतान्त्रिक अभ्यास भन्दै ‘प्राइमरी इलेक्सन’ गराए पनि अन्तिम सूचीमा भने नेतृत्वको तजबिजी र बाह्य समूहसँगको भागबण्डा हाबी भएको पाइएको हाे।

रास्वपाले प्राइमरी इलेक्सनको मतभारलाई ५० प्रतिशत मात्रै आधार मानेको र बाँकी ५० प्रतिशत नेतृत्वको हातमा राखेका कारण लोकप्रिय मत ल्याउने धेरै उम्मेदवारहरू प्राथमिकताको सूचीमा निकै पछाडि परेका हुन्। साथै, काठमाडौँका मेयर बालेन्द्र साह र ‘उज्यालो नेपाल’ (कुलमान घिसिङ समूह) सँग भएको राजनीतिक सहमतिका आधारमा केही व्यक्तिहरूलाई सिधै बन्दसूचीको शीर्ष स्थानमा ल्याइएको छ।

प्राइमरी इलेक्सनमा खस आर्य पुरुषतर्फ सर्वाधिक मत ल्याएका वक्ता रमेश प्रसाई बन्दसूचीको पाँचौँ स्थानमा पुगेका छन्। उनीभन्दा अगाडि रास्वपाका सहमहामन्त्री विपिन आचार्य र बालेन शाहको कोटाबाट आएका सचिन ढकाल र सुदिप ढकाललाई राखिएको छ। सचिन ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन्।

त्यस्तै, खस आर्य महिलातर्फ सर्वाधिक लोकप्रिय मत ल्याएकी रञ्जु दर्शनालाई १०औँ स्थानमा पुर्‍याइएको छ। उनको ठाउँमा प्राइमरी इलेक्सनमा ९औँ स्थानमा रहेकी सहप्रवक्ता प्रतिभा रावल पहिलो नम्बरमा उक्लिएकी छन् भने विदुषी राणा र लिमा अधिकारी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

दलित र जनजातिमा झन् ठूलो उलटपुलट
दलित र आदिवासी जनजाति क्लस्टरमा पनि प्राइमरी इलेक्सनको नतिजालाई पूर्णतः बेवास्ता गरिएको छ। दलिततर्फ सर्वाधिक मत ल्याएका विजय जैरु बन्दसूचीबाटै बाहिरिएका छन् भने सातौँ स्थानमा रहेका रुपक विश्वकर्मालाई पहिलो नम्बरमा राखिएको छ। सोही क्लस्टरमा कलाकार प्रकाश सपूतलाई बालेनको कोटाबाट दोस्रो स्थानमा ल्याइएको छ। दलित महिलातर्फ उज्यालो नेपालको कोटाबाट रिमा विश्वकर्मा पहिलो नम्बरमा परेकी छन्।

आदिवासी जनजातितर्फ सर्वाधिक भोट ल्याएका उत्तमबहादुर गुरुङ बन्दसूचीमै अटाएका छैनन् भने डा. राम लामा बालेनको कोटाबाट शीर्ष स्थानमा परेका छन्। जनजाति महिलातर्फ सर्वाधिक मत ल्याएकी सत्यकला राई १६औँ स्थानमा पुगेकी छन्।

नेतृत्वले बाहिरी समूहलाई समेट्ने नाममा आफ्नै कार्यकर्ताले रुचाएका उम्मेदवारहरूलाई पछि पारेपछि रास्वपाभित्र आन्तरिक असन्तुष्टि बढ्ने देखिएको छ। निर्वाचन अगाडि ‘प्राइमरी’ को उत्साह देखाए पनि अन्तिम समयमा गरिएको यो हेरफेरले पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।