दिक्तेल बजारको सडक ढलान सम्पन्न : सौन्दर्यकरण सुरु
काठमाडौँ, पुस ३० । खोटाङको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र दिक्तेल बजारले सात वर्षको लामो प्रतीक्षापछि नयाँ स्वरूप पाएको छ । वि.सं. २०७६ मा सुरु गरिएको बजार क्षेत्रको सडक ढलान कार्य आइतबार (पुस २७ गते) सम्पन्न भएसँगै बजारको मुहार फेरिएको हो ।
किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब दिक्तेलवासीले दशकौँदेखि भोग्दै आएको हिउँदमा धुलो र बर्खामा हिलोको समस्या सधैँका लागि अन्त्य भएको छ । बजेट अभाव र विभिन्न प्राविधिक कारणले सात वर्षसम्म अल्झिएको यो परियोजना पूरा भएपछि जिल्लावासी उत्साहित भएका छन् ।
हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने सास्तीबाट स्थानीयलाई मुक्ति; भानुभक्तको सालिक पुनः निर्माण र चित्रकलाले बजारलाई कलात्मक बनाइँदै
दिक्तेलको शङ्खधर साख्वा चोकदेखि भानुचोकसम्मको अन्तिम खण्डको ढलान कार्य निर्धारित समयभन्दा करिब तीन महिनाअघि नै सम्पन्न भएको छ । २०८२ चैत २२ सम्मको सम्झौता भए पनि निर्माण कम्पनी ‘फास्ट एन्ड फास्ट कन्स्ट्रक्सन’ले पुसभित्रै काम सकेको हो । कोशी प्रदेश सरकारको ९५ लाख ८५ हजार रुपैयाँ लागतमा यो अन्तिम चरणको काम सम्पन्न भएको भौतिक पूर्वाधार कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभयो ।
सडक ढलान सकिएसँगै अब बजारलाई सुन्दर बनाउने अभियान सुरु भएको छ । कोशी प्रदेश सरकारले यसै आर्थिक वर्षका लागि सौन्दर्यकरण शीर्षकमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले ढिलै भए पनि सडक ढलान पूर्ण हुनुले बजारको व्यवसायिक वातावरणमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । विगतमा सडकको दुरावस्थाका कारण राजनीतिक नेतृत्वको आलोचना हुने गरे पनि अहिलेको उपलब्धिले सबैमा खुसी सञ्चार गरेको छ ।
सौन्दर्यकरणको काम सुदेवी कन्स्ट्रक्सन प्रालिले ८१ लाख ९ हजार रुपैयाँको लागतमा सुरु गरिसकेको छ । यस परियोजनाले दिक्तेललाई केवल व्यापारिक केन्द्र मात्र नभई एक पर्यटकीय र साहित्यिक गन्तव्यका रूपमा समेत स्थापित गर्ने लक्ष्य राखिएको छ ।