निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न मानव अधिकारवादी संस्थाहरूको आह्वान

काठमाडौँ, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि आह्वान गरिएको छ।

नेपाल मानव अधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचनको विश्वसनीयता कायम राख्न सरोकारवाला सबै पक्षको ध्यानाकर्षण गराएका हुन्। नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनमा संलग्न राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा मतदातालाई आचारसंहिताको अक्षरशः पालना गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार हो। निर्वाचनलाई विश्वसनीय बनाउन नागरिक सचेतना र निरन्तर निगरानीमा हामी सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।”

मानव अधिकारवादी संस्थाहरूले सुरक्षा निकायलाई निर्वाचन अवधिभर शान्तिसुरक्षा कायम गर्न निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न तथा सञ्चारमाध्यमलाई जिम्मेवार, तथ्यपरक र सन्तुलित सूचना सम्प्रेषण गर्न सुझाव दिएका छन्। त्यसैगरी, मतदातालाई कुनै पनि प्रलोभन, दबाब वा गलत सूचनाबाट प्रभावित नभई आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न समेत अनुरोध गरिएको छ।

निर्वाचनका क्रममा हुन सक्ने हिंसा, डरत्रास, मतदाता प्रलोभन, सरकारी स्रोतसाधनको दुरुपयोग र सामाजिक सञ्जालमार्फत फैलिने घृणात्मक अभिव्यक्तिप्रति विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ। “यस्ता गतिविधिले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाउँछन्, त्यसैले निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा थप कडाइ गर्नुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।

मनोनयनका क्रममा देखिएको जनसहभागिता प्रशंसनीय भए पनि केही स्थानमा देखिएका तडकभडक र उत्तेजक गतिविधिहरू आचारसंहिताविपरीत रहेको भन्दै दुवै संस्थाले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्। उनीहरूले राजनीतिक दल र उम्मेदवारलाई मुद्दा केन्द्रित र मर्यादित प्रतिस्पर्धामा उत्रन समेत आग्रह गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *