हिमपातले गुर्जा र घोडेपानी सेताम्मे, जनजीवन प्रभावित

म्याग्दी, १४ माघ । म्याग्दीका उच्च पहाडी तथा लेकाली बस्तीहरूमा बुधबार हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी लगायतका क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।

यो वर्षको दोस्रो हिमपातका कारण चिसो ह्वात्तै बढेको छ । धवलागिरी–१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालका अनुसार मङ्गलबार राति पानी परेको र बुधबार बिहानैदेखि निरन्तर हिउँ परिरहेको छ । समुद्री सतहदेखि २ हजार ७ सय मिटर उचाइमा रहेको गुर्जामा करिब दुई इन्च बाक्लो हिउँ जमेको छ । हिमपातका कारण गुर्जा जोड्ने पदमार्ग र सडक अवरुद्ध हुँदा स्थानीयवासी घरभित्रै आगो तापेर बसेका छन् भने गाईवस्तुलाई गोठमै सुक्खा घाँस खुवाएर राखिएको छ ।

विश्वप्रसिद्ध पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाँडा पनि हिउँले सेताम्मे भएका छन् । घोडेपानीकी होटल व्यवसायी मीना पुनका अनुसार हिमपात सुरु भएसँगै पर्यटकीय चहलपहल घटेको छ । पदयात्रामा आएका पर्यटकहरू नहुँदा र चिसो बढेपछि घोडेपानी सुनसान बनेको छ ।

हिमपातले जनजीवन कष्टकर बनाए पनि किसानहरू भने खुसी भएका छन् । लामो समयपछि जिल्लाभर वर्षा र उच्च भेगमा हिमपात हुँदा हिउँदे बाली सप्रिने आशा पलाएको छ । मालिका गाउँपालिका–७ का कृषक भुपेन्द्र शर्माले आकाशे पानी र हिउँले सिँचाइको काम गरेकाले गहुँ, जौ, केराउ तथा सुन्तलाजात फलफूल खेतीलाई ठूलो फाइदा पुग्ने बताउनुभयो ।