राष्ट्रियसभामा प्रधानमन्त्रीको सम्पत्ति विवरण माग, भूकम्पपीडितको बिचल्लीबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ, १४ माघ । राष्ट्रियसभाको आज (बुधबार) को बैठकमा सांसदहरूले जनजीविकाका सवालमा सरकारलाई प्रश्नैप्रश्न गरेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरूले भूकम्पपीडितको राहत, सडकको दुर्दशा, दलित बजेट र सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद कमला पन्तले २०७२ सालका भूकम्पपीडितले राहत पाए पनि जाजरकोट भूकम्पका पीडितहरूले अझैसम्म राहत नपाएको भन्दै आक्रोश पोख्नुभयो । उहाँले चिसोमा कठ्यांग्रिएका नागरिकलाई तत्काल राहत प्रदान गर्न सरकारसँग माग गर्नुभयो ।

सुशासनको कुरा उठाउँदै सांसद युवराज शर्माले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरूले तत्काल सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । उहाँले सरकारमा बस्ने व्यक्तिहरू पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद नारायणदत्त मिश्र र राजेन्द्रलक्ष्मी गैरेले देशभरका सडकको अवस्था दयनीय भएको बताए । मिश्रले डोटीमा कालोपत्र गर्ने भनिएको सडक अलपत्र परेको गुनासो गर्नुभयो ।

त्यस्तै, सांसद भुवनबहादुर सुनारले अर्थमन्त्रालयले दलित समुदायका लागि विनियोजन गरेको ५० करोड रुपैयाँ कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले अघिल्लो वर्षको बजेट फ्रिज भएको स्मरण गराउँदै यसपालि तत्काल कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो ।

सांसद सुरेशकुमार आलेमगरले गत भदौ २३ र २४ गतेको आन्दोलनमा भएको क्षतिको गम्भीर छानबिन गर्न माग गर्नुभएको छ ।