प्रतिनिधिसभा निर्वाचन अपडेट: प्रत्यक्षतर्फ ३० लाख मतपत्र छापियो, २५ जिल्लाको काम सम्पन्न
काठमाडौँ, १९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ । आयोगका अनुसार प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीतर्फ हालसम्म २५ जिल्लाका लागि आवश्यक ३० लाख थान मतपत्र छपाइ भइसकेको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम नियमित रूपमा भइरहेको छ । आयोगले दुर्गम र हिमाली जिल्लाहरूलाई प्राथमिकतामा राखेर प्रत्यक्षतर्फको छपाइ अघि बढाएको हो ।
समानुपातिक र नमूना मतपत्रको अवस्था
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ । समानुपातिकका लागि कुल २ करोड ८ लाख ३० हजार थान मतपत्र छापिएको छ । यस्तै, मतदाता शिक्षाका लागि आवश्यक पर्ने १० लाख ९८ हजार २०० थान ‘नमूना मतपत्र’ पनि सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् ।
डिजिटल माध्यमबाट मतदाता शिक्षा
मतदातालाई मतदान प्रक्रिया र निर्वाचनको महत्त्वबारे जानकारी गराउन आयोगले १५८ वटा विभिन्न सचेतनामूलक सामग्रीहरू सार्वजनिक गरेको छ । आयोगको आधिकारिक फेसबुक, एक्स (ट्विटर), टिकटक र युट्युब च्यानलमार्फत यी सामग्रीहरू प्रचारप्रसार भइरहेका छन् । मिथ्या र भ्रमपूर्ण सूचनालाई न्यूनीकरण गर्दै विश्वसनीय सूचना प्रवाह गर्नु यसको मुख्य उद्देश्य रहेको आयोगले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ
निर्वाचनको तयारी र वातावरणबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन परराष्ट्र मन्त्रालयको समन्वयमा कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुखहरूलाई विशेष ब्रिफिङ गरिएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सो कार्यक्रममा निर्वाचन आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूले निर्वाचनको सुरक्षा व्यवस्था, तयारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षणका विषयमा स्पष्ट पारेका थिए । निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन आयोगले गरिरहेको प्रयासका बारेमा कूटनीतिज्ञहरूलाई अवगत गराइएको छ ।