प्रतिनिधिसभा निर्वाचन: ५३ जिल्लाको मतपत्र छपाइ सकियो, १ करोड ५० लाख बढी तयार

काठमाडौँ, २८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्यलाई तीव्र पारेको छ। आयोगका अनुसार हालसम्म ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न भएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बुधबारसम्म १ करोड ५० लाखभन्दा बढी मतपत्र छापिएको जानकारी दिनुभयो। मंगलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सकिएकोमा बुधबार थप ६ जिल्लाको काम पूरा भएको हो।

आयोगका अनुसार डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट जस्ता विकट जिल्लादेखि झापा, मोरङ, कैलाली र कञ्चनपुरसम्मका ५३ जिल्लाको मतपत्र तयार भइसकेको छ। छापिएका मतपत्रहरू प्याकिङ गर्ने काम पनि सँगसँगै भइरहेको छ। हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ भइसकेको र दैनिक करिब एक हजार बाकस प्याकिङ गर्ने काम भइरहेको आयोगले जनाएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छपाइ कार्यमा हाल दैनिक १३ देखि १५ लाख थान मतपत्र उत्पादन भइरहेको छ। आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने लक्ष्य राखेको छ, जसको छपाइ माघ १६ गतेदेखि सुरु भएको हो।

यसअघि, समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र माघ १३ गते नै छापेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। निर्वाचन शिक्षाका लागि आवश्यक १० लाख ९८ हजार नमूना मतपत्र भने यसअघि नै जिल्लाहरूमा पठाइसकिएको छ।