नेपाललाई ‘फिल्म टुरिजम’को हब बनाउन पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच ४ बुँदे समझदारी
काठमाडौँ, २८ माघ । नेपालको प्राकृतिक सौन्दर्य र संस्कृतिलाई चलचित्रमार्फत विश्वभर फैलाएर पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच रणनीतिक समझदारी भएको छ ।
बुधबार पर्यटन बोर्डको सभाहलमा आयोजित एक विशेष कार्यक्रमका बीच दुई निकायबीच चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हस्ताक्षर गर्नुभयो ।
समझदारीका चार मुख्य बुँदाहरू:
१. कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति: सन् २०२६ (वि.सं. २०८३ वैशाख) मा फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’मा नेपालले आधिकारिक रूपमा सहभागिता जनाउने ।
२. पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल:पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सव आयोजना गर्ने ।
३. अडियो–भिजुअल स्टोरीटेलिङ: नेपालका विविध पाटालाई समेटेर ‘अडियो–भिजुअल स्टोरीटेलिङ’ अभियान सञ्चालन गर्ने ।
४. प्रवर्द्धनात्मक सामग्री उत्पादन: चलचित्र पर्यटन (Film Tourism) सम्बन्धी विशेष प्रवर्द्धनात्मक सामग्रीहरू उत्पादन र वितरण गर्ने ।
कार्यक्रममा बोल्दै पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपाललाई ‘ल्याण्ड अफ मेमोरेबल स्टोरिज्’ (स्मरणीय कथाहरूको देश) का रूपमा स्थापित गर्न चलचित्र पर्यटनलाई प्राथमिकता दिइएको बताउनुभयो । “चलचित्र छायाङ्कनका लागि नीतिगत सुधार र अनुमति प्रक्रियालाई सरल बनाउन हामी प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो, “पर्यटन बोर्ड सहभागी हुने अन्तर्राष्ट्रिय फोरमहरूमा अब चलचित्र क्षेत्रलाई पनि सँगै लैजानेछौँ ।”
त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो सहकार्यलाई एउटा लामो र अर्थपूर्ण यात्राको सुरुवात भन्नुभयो । उहाँले भन्नुभयो, “चलचित्र छायाङ्कन भएका स्थानहरू स्वतः पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धित हुन्छन् । नेपाललाई फिल्म सुटिङको आकर्षक गन्तव्य बनाउन हामी हातेमालो गर्नेछौँ ।”
नेपाल पत्रकार महासंघका सचिव बैकुण्ठराज पराजुलीले यो समझदारीले नेपाललाई विश्व पर्यटनको नक्सामा थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।