धादिङ बस दुर्घटनाः बसभित्र च्यापिएका यात्रुको ५ घण्टापछि जीवितै उद्धार

धादिङ, ११ फागुन । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा गएराति भएको त्रासदीपूर्ण बस दुर्घटनामा च्यापिएका एक यात्रुलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । भिरमा खसेर कच्याककुचुक्क परेको बसभित्र फसेका ललितपुर, इमाडोलका कृष्णराज मानन्धरलाई लामो प्रयासपछि सकुशल बाहिर निकालिएको हो ।

क्षतविक्षत अवस्थामा रहेको ग २ ख १४२१ नम्बरको बसभित्र च्यापिएका उनलाई बसको पार्टपुर्जा काटेर निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले जानकारी दिए । अप्ठ्यारो भिर र तत्काल पर्याप्त उद्धार सामग्री नहुँदा उद्धारमा निकै कठिनाइ भएको उनले बताए ।

एसपी खड्काले भने, “मलाई बचाउनुहोस् भन्दै उहाँ भित्रबाट चिच्याइरहनुभएको थियो । तर, हामीसँग तत्कालै बस उठाउने वा काट्ने उपकरण थिएन । लामो समय सान्त्वना दिएर राख्यौँ र पछि जेनेरेटरसहितको मेसिन ल्याएर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर उहाँलाई जीवितै बाहिर निकाल्न सफल भयौँ ।”

पाँच घण्टाको कष्टकर अवस्थाबाट उद्धार गरिएका मानन्धरलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । प्रहरीका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको उक्त बस गएराति दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । जसमध्ये १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा परी घाइते भएका २६ जनाको काठमाडौँलगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मृतकहरूको शव पोस्टमार्टमका लागि धादिङ अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।