काठमाडौंको सुकेधारा र नैकापमा दुई गाडीमा आगजनी, घटनास्थलमा दुर्गा प्रसाईंको पर्चा भेटियो
काठमाडौं, १९ फागुन । प्रतिनिधि सभा निर्वाचनको मौन अवधि सुरु भएकै राति काठमाडौंको सुकेधारा र नैकापमा दुईवटा गाडीमा आगजनी भएको छ।
मंगलबार बिहानपख भएको उक्त घटनामा आगो लगाइएका गाडीभित्र मेडिकल व्यवसायी तथा अभियानकर्मी दुर्गा प्रसाईंको पर्चा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन्।
उनका अनुसार सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो। “बिहान करिब ३ बजेको आसपासमा गाडीहरूमा आगजनी भएको हो। घटनास्थल र गाडीभित्र दुर्गा प्रसाईंको पर्चा भेटिएको छ,” एसपी भट्टराईले भने, “अहिलेसम्म सवारी धनीहरूले हामीलाई उजुरी वा जानकारी गराउनुभएको छैन, यद्यपि हामीले आफ्नै तवरले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौं।”
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक रहेका दुर्गा प्रसाईंलाई गत फागुन १७ गते प्रहरीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। पक्राउ परेका प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिइसकेको छ।
प्रसाईं पक्राउ परेकै समयमा निर्वाचनको मौन अवधिमा उनको पर्चासहित गाडीमा आगजनी हुनुलाई प्रहरीले गम्भीरताका साथ लिएको छ। आगजनीमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।