सुर्खेतको छिन्चुमा ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली बोलाइयो

सुर्खेत, १९ फागुन । सुर्खेतको भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान एउटा शंकास्पद वस्तु फेला परेको छ। सडक किनारमा बमजस्तो देखिने वस्तु भेटिएपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

स्थानीय बासिन्दाका अनुसार सडकको छेउमा रातो प्लास्टिकले बेरिएको अवस्थामा एउटा प्रेसर कुकर राखिएको छ, जसमा स्पष्ट रूपमा ‘खतरा’ लेखिएको छ। बिहानै उक्त शंकास्पद वस्तु देखेपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै घटनास्थल वरपर सुरक्षा घेरा (कर्डन) तयार पारिएको छ।

“सडक किनारमा शंकास्पद वस्तु भेटिएको सूचना आएपछि हामीले तत्काल उक्त क्षेत्रलाई सुरक्षित घेरामा राखेका छौं,” प्रहरी निरीक्षक केसीले भने। सुरक्षा सतर्कता अपनाउँदै प्रहरीले त्यस क्षेत्रमा सर्वसाधारण र सवारीसाधनको आवतजावतमा पूर्ण रूपमा रोक लगाएको छ।

उक्त शंकास्पद वस्तु विस्फोटक पदार्थ (बम) हो वा तर्साउनका लागि मात्र राखिएको हो भन्ने पुष्टि हुन बाँकी छ। प्रहरीका अनुसार उक्त वस्तुको पहिचान गर्न र त्यसलाई निष्क्रिय पार्न (डिस्पोज गर्न) नेपाली सेनासँग समन्वय भइरहेको छ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेपछि आवश्यक जाँच तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। घटना कसले र किन गराएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ।