निर्वाचन आयोगको चेतावनी : मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेको उम्मेदवारी खारेज गरिने

काठमाडौं, १९ फागुन । निर्वाचन आयोगले मौन अवधिको समयमा आचारसंहिता विपरीत गतिविधि गर्ने उम्मेदवार र सरोकारवालालाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो सन्देश जारी गर्दै कानुनले निषेध गरेका क्रियाकलापमा शून्य सहनशीलता अपनाइने स्पष्ट पारेका हुन्।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा ‘जस्केलाबाट’ हुनसक्ने अनियमितता र अवैध कामहरूप्रति आयोग गम्भीर रहेको बताए। उनले भने, “हामीले त्यस्ता अनियमित र अवैध काम गर्न उद्यत व्यक्तिहरूको पहिचान गरिरहेका छौं। यदि कतै त्यस्तो काम भएको छ भने तत्काल निर्वाचन आयोगलाई जानकारी दिनुस्।”

आयोगले प्राप्त सूचना र वस्तुगत प्रमाणका आधारमा आचारसंहिता उल्लंघन गरेको ठहरिएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी खारेज गर्नेसम्मको कारबाही गर्ने जनाएको छ। त्यति मात्र नभई, कसुरको गम्भीरता हेरी दोषीलाई आगामी ६ वर्षसम्म कुनै पनि चुनावी प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइनेसमेत भण्डारीले चेतावनी दिए।

“कानुनविपरीतका काममा निर्वाचन आयोगले शून्य सहनशीलता अपनाउनेछ। जहाँ जस्तो सूचना पाउनुहुन्छ, आयोगलाई दिनुस्; कारबाही गर्न आयोग पछि हट्दैन,” भण्डारीले स्पष्ट पारे।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत चुनावलाई प्रभावित पार्ने गतिविधिप्रति पनि आयोगले कडा निगरानी राखिरहेको छ। भण्डारीले गलत उद्देश्य प्राप्तिका लागि सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका भ्रामक समाचार वा सूचनाहरू तत्काल हटाउन आग्रह गरेका छन्। “मौन अवधिमा त्यस्ता सामग्री सम्प्रेषण भएमा स्रोतको खोजी गरी कारबाहीको दायरामा ल्याउँछौँ,” उनले भने।

यसैबीच, निर्वाचन सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *