कुसुन्तीस्थित विद्यालयभित्र पसेको चितुवाको सकुशल उद्धार

काठमाडौँ, १६ फागुन । ललितपुरको कुसुन्ती हाइटस्थित माछापुच्छ्रे स्कुलभित्र पसेको एउटा चितुवाको सकुशल उद्धार गरिएको छ । जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले आज बिहान विद्यालयको स्टोर रुमबाट उक्त चितुवालाई नियन्त्रणमा लिएको हो ।

सदर चिडियाखाना, डिभिजन वन कार्यालय ललितपुर, सातदोबाटो प्रहरी र ललितपुर नगर प्रहरीको संयुक्त प्रयासमा ‘डार्ट’ (लठ्याउने सुई) को प्रयोग गरी चितुवाको सुरक्षित रूपमा उद्धार गरिएको हो ।

सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार अन्दाजी १० वर्ष उमेर र करिब ६० किलोग्राम तौल भएको उक्त चितुवालाई हाल उपचार तथा निगरानीका लागि चिडियाखानाकै वन्यजन्तु अस्पतालमा राखिएको छ । स्वास्थ्य परीक्षण र आवश्यक उपचारपछि पूर्ण स्वस्थ रहेको पाइएमा चितुवालाई सुरक्षित रूपमा प्राकृतिक बासस्थानमै छाडिने प्रमुख साहले जानकारी दिए ।

पछिल्लो समय मानव बस्तीमा वन्यजन्तु पस्ने क्रम बढ्दै गएको छ । सदर चिडियाखानाले विगत एक वर्षको अवधिमा मात्रै विभिन्न स्थानबाट २४१ वटा वन्यजन्तु, चराचुरुङ्गी र स्तनधारी प्राणीको उद्धार गरिसकेको छ । जसमध्ये उपचारपछि पूर्ण स्वस्थ भएका ५७ वटा वन्यजन्तुलाई प्राकृतिक बासस्थानमा फर्काइएको चिडियाखाना प्रशासनले जनाएको छ ।

हाल सदर चिडियाखानामा ११५ प्रजातिका १ हजार ३०० भन्दा बढी वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षित छन् ।