चितवनमा रगतको चरम अभाव : रेडक्रसद्वारा आपत्कालीन रक्तदानको अपिल
चितवन, ५ चैत । चितवनका अस्पतालहरूमा रगतको चरम अभाव देखिएपछि गम्भीर प्रकृतिका बिरामीको उपचार तथा शल्यक्रियामै समस्या पर्न थालेको छ । रगतको अभावमा बिरामीको ज्यानै जोखिममा पर्न सक्ने अवस्था सिर्जना भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले आपत्कालीन रक्तदानका लागि सर्वसाधारण तथा सङ्घसंस्थाहरूलाई अपिल गरेको छ ।
रेडक्रस चितवन शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा पछिल्लो समय (निर्वाचनयता) जिल्लामा रक्तदानका कार्यक्रमहरू अत्यन्तै न्यून भएकाले रगतको हाहाकार मच्चिएको उल्लेख छ । हाल चितवनमा दैनिक करिब १५० युनिट रगतको माग हुने गरेको छ, तर मागअनुसार आपूर्ति नहुँदा उपचार प्रक्रिया प्रभावित बन्न पुगेको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगत अभावका कारण जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर सङ्घीय अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायतमा उपचाररत बिरामीहरू प्रत्यक्ष मारमा परेका छन् ।
विशेषगरी धेरै रगत आवश्यक पर्ने क्यान्सरका बिरामी, शल्यक्रिया गर्नुपर्ने सुत्केरी र दुर्घटनाका गम्भीर घाइतेहरूको उपचारका लागि आकस्मिक रूपमा रगत जुटाउन निकै सकस परिरहेको प्रमुख पौडेलले बताए ।
पर्याप्त रगत मौज्दात नहुँदा बाहिरी जिल्लाबाट रेफर भई आएका बिरामीहरूको उपचार नै रोकिने अवस्था आएको छ । हाल प्रादेशिक रक्तसञ्चार केन्द्र र ठूला अस्पतालमा रहेका एकाइहरूले बिरामीकै आफन्त र केही नियमित स्वयंसेवी रक्तदाताहरूको सहयोगमा मात्रै जेनतेन माग पूर्ति गर्ने प्रयास गरिरहेका छन् ।
अभावको यो जटिल परिस्थितिलाई मध्यनजर गर्दै सम्भावित मानवीय क्षति रोक्न तत्काल रक्तदानका कार्यक्रमहरू आयोजना गर्न र रगत दान गरी जीवन दान गर्न रेडक्रसले सरोकारवाला सबैमा गम्भीर आग्रह गरेको छ ।