मध्यपहाडी लोकमार्गको पातिहाल्नेमा भारी हिमपात: सुरक्षाकर्मीद्वारा २५० यात्रुको सफल उद्धार
बागलुङ, ७ चैत । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा फसेका करिब २५० यात्रुको शनिबार सफल उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको बाक्लो हिउँका कारण सडक अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए ।
पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमका अनुसार सातवटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा सवार यात्रुहरू हिउँमा फसेका थिए । हिउँले सडक ढाकेपछि शनिबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो ।
उद्धार कार्यका लागि भूमे गाउँपालिकाको डोजर (मेसिन) प्रयोग गरिएको थियो । सुरक्षाकर्मी र प्राविधिक टोलीले दुई जिल्लाको सिमाना क्षेत्रमा करिब तीन किलोमिटर सडकमा जमेको हिउँ पन्छाएर बाटो खुलाएको सहायक प्रजिअ गौतमले जानकारी दिनुभयो । “हिउँले सडक पूर्ण रूपमा ठप्प थियो, हामीले सूचना पाउनासाथ सुरक्षाकर्मी र मेसिन परिचालन गरेर यात्रुहरूलाई गन्तव्यतर्फ पठाएका छौँ,” उहाँले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङ खण्डमा हिउँ परे पनि यातायात पूर्ण रूपमा नरोकिएको बताउनुभयो । यद्यपि, उच्च हिमाली भेगमा मौसम प्रतिकूल भइरहने भएकाले काठमाडौँ र पोखराबाट पश्चिमका रुकुम, रोल्पा, जाजरकोट, डोल्पा र सल्यानतर्फ जाने सवारीसाधनलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
हिउँ पन्छाएपछि अहिले मध्यपहाडी लोकमार्गमा सवारीसाधनको आवागमन सुचारु भएको छ । तर, मौसम अझै पूर्ण रूपमा सफा नभएकाले लेकाली क्षेत्रमा यात्रा गर्दा उच्च सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।