मेची राजमार्गमा पुनः पहिरो खस्दा यातायात ठप्प, मालवाहक ट्रक पुरियो
झापा, १६ चैत । गएराति मात्रै एकतर्फी खुलाइएको मेची राजमार्ग आज बिहान पुनः पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । इलामको रोङ गाउँपालिका–४ बागखोरमा खसेको सुक्खा पहिरोले सडक ठप्प हुनुका साथै एउटा मालवाहक ट्रकसमेत पुरिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, सडक मर्मत भइरहेको बागखोर क्षेत्रमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खसेको थियो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको काठ (गोलिया) बोकेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । यद्यपि, मानवीय क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।
इलामका प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी भण्डारीले बिहान खसेको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा बन्द भएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अवरुद्ध सडक पन्छाएर यातायात सुचारु गर्ने प्रयास तीव्र रूपमा भइरहेको छ ।
यसअघि हिजो साँझ पनि सोही स्थानमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । राति १०ः५० बजेतिर पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो । तर, आज बिहानै फेरि ठूलो पहिरो खसेपछि अवस्था थप जटिल बनेको छ भने गन्तव्यतर्फ हिँडेका यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन् ।