प्रधानन्यायाधीश राउत भोलिदेखि अनिवार्य अवकाशमा, कायममुकायमको जिम्मेवारी मल्ललाई
काठमाडौँ, १७ चैत । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण भोलिदेखि अनिवार्य अवकाशमा जानुहुने भएको छ । कानुन व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतको न्यायाधीश हुँदै उहाँ प्रधानन्यायाधीश बन्नुभएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, प्रधानन्यायाधीश राउत आज अदालतमा उपस्थित हुनुहुनेछ र भोलिबाट अनिवार्य अवकाशमा जानुहुनेछ । उहाँको अवकाशसँगै सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुहुनेछ । कायममुकायमको जिम्मेवारी सम्हाल्न लाग्नुभएकी मल्ल पनि कानुन व्यवसायी पृष्ठभूमिबाटै आउनुभएको हो ।
वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताउनुभएका राउत प्रधानन्यायाधीश बन्नुभएको थियो । विसं २०७३ साउन १७ गते न्यायाधीशका रूपमा नियुक्त हुँदा नै उहाँ प्रधानन्यायाधीशको रोलक्रममा हुनुहुन्थ्यो ।
विगतमा न्यायपालिकाभित्रको विकृति र विसङ्गतिबारे अध्ययन गर्न सर्वोच्च अदालत बार एशोसिएसनले गठन गरेको समितिमा रहेर उहाँले काम गर्नुभएको थियो । साथै, सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित न्यायपालिकाको विकृति विसङ्गतिबारे अध्ययन गर्न गठित समितिमा पनि उहाँ सदस्य हुनुहुन्थ्यो ।
उहाँको विगतको निष्ठा, अनुभव र छविका कारण न्यायालयको विकृति र विसङ्गति सुधार्नमा उहाँको ठूलो योगदान रहने धेरैको अपेक्षा थियो । न्यायालयको विकृति अन्त्य गर्ने सङ्कल्प लिनुभएका राउतले आफ्नो कार्यकालमा न्यायालयमा केही संरचनागत सुधार गरे पनि आफैँ संलग्न रहेको समितिले बुझाएको ‘कार्की प्रतिवेदन’ पूर्ण रुपमा कार्यान्वयन गर्ने अपेक्षा भने अधुरै छोडेर अनिवार्य अवकाशमा जान लाग्नुभएको छ ।