गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
रुपन्देही, १८ चैत । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी उडान तालिकादेखि अन्तर्राष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालेको हो ।
विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ । “हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध धर्मावलम्बीलाई लक्षित गरी सेवा दिइँदै आइएको थियो । पछिल्लो हिउँदे तालिकामा सातामा दुई दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । लुम्बिनी–गयाजस्ता बौद्ध सर्किटलाई जोड्ने उडान विस्तारले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
विमानस्थलको प्रभावकारी उपयोगका लागि ‘फिफ्थ फ्रिडम’ (पाँचौँ स्वतन्त्रता) उडानको अवधारणा अघि सारिएको महाप्रबन्धक साहले उल्लेख गर्नुभयो । यस व्यवस्थाअनुसार विदेशी वायुसेवा कम्पनीले भैरहवालाई ‘ट्रान्जिट’ विन्दु बनाउँदै तेस्रो मुलुकसम्म उडान सञ्चालन गर्न सक्नेछन् । कतार एयरवेजजस्ता वायुसेवाले दोहा–भैरहवा–तेस्रो देश र पुनः सोही मार्गमार्फत उडान सञ्चालन गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक नीतिगत तथा प्राविधिक तयारी अघि बढाएको छ । सरकारी तहबाट शीघ्र आवश्यक निर्णय हुने अपेक्षा रहेको महाप्रबन्धक साहले बताउनुभयो । “अहिले पनि कतार एयरवेजले कतारबाट नभई अन्य मुलुकबाट उडान गरिरहेको छ, हामीले कतार एयरवेजलाई भैरहवाबाट नै ‘फिफ्थ फ्रिडम’ अनुरुप उडान गर्नेगरी तयारी गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यस विषयमा शीघ्र मन्त्रिपरिषद्ले निर्णय गर्नेमा हामी विश्वस्त छौँ ।”
उडान सङ्ख्या वृद्धि गर्ने अर्को महत्त्वपूर्ण योजनाअन्तर्गत नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवामा ‘बेस’ राख्ने (विश्राम गराउने) तयारी गरिएको छ । यसले यहाँबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई नियमित र भरपर्दो बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । यसैगरी, रुपन्देही निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाँले पनि अबको केही दिनभित्रै नेपाल एयरलाइन्सले भैरहवालाई ‘बेस’ बनाएर उडान गर्ने जानकारी दिनुभयो ।
हाल वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको आवागमन सहज बनाउन विभिन्न चार्टर उडान सञ्चालन भइरहेका छन् । कुवेत एयरवेजले कुवेत सिटी–भैरहवा उडानमार्फत नेपालीलाई स्वदेश ल्याइरहेको छ भने साउदी अरबको दमामबाट पनि उडान अनुमतिको प्रक्रिया अघि बढेको महाप्रबन्धक साहले जानकारी दिनुभयो । उहाँका अनुसार चार्टरसँगै नियमित उडानलाई पनि समान रूपमा प्राथमिकता दिइनेछ ।
यी पहलले लुम्बिनी केन्द्रित धार्मिक पर्यटन प्रवर्द्धनका साथै वैदेशिक रोजगारीमा जाने र फर्कने नेपाली नागरिकका लागि आवागमनमा सहजता ल्याउने विश्वास गरिएको छ ।