सुनको भाउमा वृद्धि : एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो
काठमाडौं, २५ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । बुधबार सुनको भाउ एकैदिन प्रतितोला ७ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन (मंगलबार) सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो ।
सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष असर सुनको मूल्यमा परेको हो । विशेषगरी अमेरिका, इजरायल र इरानबीच युद्ध अन्त्यका लागि कूटनीतिक पहल भएसँगै कच्चा तेलको मूल्य घटेको र लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमै सुन महँगिन पुगेको विश्लेषण गरिएको छ ।