विराट गोल्डकप : उद्घाटन खेलमा नेपाल आर्मीलाई हराउँदै झापा-११ विजयी

काठमाडौँ, चैत २९ । विराटनगरमा शनिबारदेखि सुरु भएको बहुप्रतिक्षित ‘विराट गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा झापा–११ फुटबल क्लब विजयी भएको छ। शहीद रङ्गशालामा फ्लड लाइटको उज्यालोमा सम्पन्न रात्रिकालीन खेलमा झापाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

झापाको जितका लागि फागुराम थारूले दुई गोल गरे। उनले खेलको १०औँ र ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यता, खेलको २३औँ मिनेटमा आर्मीका नवीन लामाले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका फागुराम थारू ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

‘फुटबलको पर्व, विराटनगरको गर्व’ भन्ने नाराका साथ सुरु भएको यस ३८औँ संस्करणमा नेपाल र भारतका गरी कूल आठ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, मच्छिन्द्र फुटबल क्लब, नेपाल एपीएफ क्लब, चर्च ब्वाइज युनाइटेड, सम्राट स्पोर्ट्स क्लब (विराटनगर), झापा–११ र भारतको विर्षामुण्डा फुटबल एकेडेमी प्रतिस्पर्धामा रहेका छन् ।

विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार तथा उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । ट्रष्टका महासचिव विनोद बस्नेतले प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

यसअघि, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उहाँले प्रदेशको खेलकुद क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वैशाख ५ गतेसम्म चल्ने यस प्रतियोगिता अन्तर्गत आज (आइतबार) सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।