म्याग्दीमा रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्रयापिङ’ सुरु
म्याग्दी, ५ जेठ । विश्वमै दुर्लभ मानिएको सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा (हाब्रे) को अवस्था र सङ्ख्या पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिका र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्रयापिङ’ विधिबाट अध्ययन सुरु गरिएको छ ।
जैविक विविधता संरक्षण समाज नेपाल (बायोकस नेपाल) ले दातृ निकाय टोलेडोजुको सहयोगमा धौलागिरि गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेको हो । रेडपाण्डाको आवतजावत हुने सम्भावित मार्ग र दिसा भेटिएका स्थानहरूलाई आधार मानी १२ वटा क्यामेरा जडान गरिएको छ ।
बायोकस नेपालका कार्यक्रम अधिकृत पवन राईका अनुसार क्यामेरामा कैद हुने दृश्यका आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पत्ता लाग्नेछ । “हामीले सङ्ख्या मात्र नभई रेडपाण्डाको स्वास्थ्य अवस्था, विशेषगरी उनीहरूको पेट र आन्द्रामा हुने परजीवि (किरा/जुका) को समेत अध्ययन गरिरहेका छौँ,” राईले भन्नुभयो । यसका लागि प्राविधिक टोलीले हाब्रेको दिसा सङ्कलन गरी प्रयोगशाला परीक्षणको तयारी समेत गरेको छ ।
यसअघि जलजला क्षेत्रमा जडान गरिएका तीनमध्ये दुईवटा क्यामेरामा रेडपाण्डाको उपस्थिति पुष्टि भइसकेको छ । उक्त क्षेत्रमा ६ देखि २५ वटासम्म रेडपाण्डा हुनसक्ने अध्ययनकर्ताहरूको अनुमान छ । स्थानीय बासिन्दाले पनि विसं २०८० असोजदेखि २०८१ सम्म विभिन्न समयमा ढोरपाटनको गुर्जाघाट र मुनाको दहपातल सामुदायिक वन क्षेत्रमा रेडपाण्डा भेटिएका भिडियो र तस्विर सार्वजनिक गरेका थिए ।
संरक्षणको चुनौती र कानुनी व्यवस्था
समुद्री सतहबाट २,२०० देखि ४,५०० मिटरको उचाइमा पाइने रेडपाण्डाका लागि आवश्यक निगालो, पालिङ्गो र रुखका टोड्काहरू म्याग्दीका जङ्गलमा पर्याप्त छन् । नेपाल सरकारले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार रेडपाण्डाको चोरी–सिकार वा ओसारपसारमा संलग्न हुनेलाई १ देखि १० वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
हाल नेपालमा रेडपाण्डाको सङ्ख्या ५०० देखि १,००० को हाराहारीमा रहेको अनुमान गरिएको छ । विश्वमा नेपालसहित चीन, भारत, भुटान र म्यानमारमा मात्र पाइने यो जीव नेपालमा ‘एलुरेन्स फ्युजन्स’ प्रजातिको रहेको छ । राति रुखको टोड्कामा बस्ने र दिउँसो हाँगामा आराम गर्ने यो लजालु स्वभावको जनावर आहाराका लागि मात्र भुइँमा झर्ने गर्दछ ।