१८औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज: तेन्जिङ र हिलारीको साहसको स्मरण, हिमाली पर्यटनमा जोड

काठमाडौँ, १५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला परेको ऐतिहासिक दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ‘१८औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइँदैछ ।

सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरी विश्वलाई नै चकित पारेका थिए । सोही साहसिक सफलताको स्मरण गर्दै हरेक वर्ष मे २९ (जेठ १५) लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिन्छ

सगरमाथा नेपालका लागि केवल एउटा हिमाल मात्र नभई राष्ट्रिय गौरव, साहसिक पर्यटनको मुटु र अन्तर्राष्ट्रिय पहिचानको बलियो आधारका रूपमा स्थापित छ । पर्यटन विभागका अनुसार हालसम्म आठ हजारभन्दा बढी आरोहीले सर्वोच्च शिखरको चुचुरोमा पाइला टेकिसकेका छन् । विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सगरमाथासहित आठ वटा हिमाल नेपालमै हुनुले नेपाललाई विश्व पर्यटन नक्सामा अद्वितीय स्थान दिलाएको छ ।

सन् २०२१ मा नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनः मापनअनुसार सगरमाथाको पछिल्लो उचाइ ८ हजार ८४८ दशमलव ८६ मिटर कायम छ ।

दिवसको अवसरमा आज सरकारी निकाय, पर्यटन व्यवसायी र पर्वतारोहण क्षेत्रका सङ्घसंस्थाहरूले हिमाली क्षेत्रको संरक्षण र सुरक्षित आरोहणका विषयमा अन्तक्रिया तथा सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम बढ्दो रहेको, हिमतालहरूको जोखिम बढेको र पदमार्गहरूमा फोहोरको समस्या देखिएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल पर्वतारोहण सङ्घले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता र स्थानीय समुदायको संस्कृति जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएको छ ।

पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत हो । प्रत्येक वर्ष विश्वभरका हजारौँ पर्वतारोही र पर्यटकहरू हिमाल हेर्न र चढ्न नेपाल आउँछन् । सगरमाथा दिवसले नेपालको यो साहसिक पर्यटनलाई विश्वव्यापी रूपमा थप प्रवर्द्धन गर्ने र हिमालहरूको अस्तित्व जोगाउन सन्देश दिने अपेक्षा गरिएको छ ।