सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

काठमाडौँ, २६ जेठ । नेपालमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई प्रभावकारी बनाउन बहुपक्षीय साझेदारी, आधुनिक प्रविधिको प्रयोग र समुदायमा आधारित पूर्वतयारी आवश्यक रहेकोमा विज्ञहरूले जोड दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा कार्यरत ‘प्रकोप पूर्वतयारी सञ्जाल’ (डिपिनेट) नेपालको ३०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित ‘सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्यले विपद् व्यवस्थापनको सुरुवात व्यक्ति र परिवारस्तरबाटै हुनुपर्ने बताए । “विपद् व्यवस्थापन केवल सरकारको मात्र जिम्मेवारी होइन, यसमा व्यक्ति, परिवार, समुदायदेखि तीनै तहका सरकार र विकास साझेदारबीच बलियो समन्वय हुनुपर्छ,” उनले भने । आचार्यले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा तीव्र देखिएकाले अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्याय र वित्तमा नेपालको पहुँच बढाउनुपर्नेमा समेत जोड दिए ।

डिपीनेट नेपालका अध्यक्ष डा. वसन्तराज अधिकारीले अबको विपद् व्यवस्थापन परम्परागत शैलीबाट माथि उठ्नुपर्ने बताए । उनले विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ र बिग डाटाजस्ता नवीन प्रविधिको प्रयोग गरेर जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने धारणा राखे ।

यस्तै, डिपीनेटका उपाध्यक्ष केशवदत्त भट्ट र महासचिव सुरज गौतमले विगत तीन दशकमा हासिल गरेका सिकाइलाई संस्थागत गर्दै विपद् व्यवस्थापनलाई प्रतिक्रियात्मक बाट पूर्वतयारीमुखी बनाउन संस्थाले भूमिका खेल्दै आएको बताए ।

कार्यक्रमको प्राविधिक सत्रमा जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले यस वर्षको मनसुनबारे जानकारी दिए । उनका अनुसार यस वर्ष देशका अधिकांश भू-भागमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ । एल निनो र इन्डियन ओसन डाइपोलजस्ता प्रणालीले नेपालको वर्षाको अवस्थालाई प्रभाव पार्ने उनले बताए ।

चट्याङविज्ञ सञ्जोक खनालले नेपालमा चट्याङबाट हुने मानवीय क्षति दक्षिण एसियामै उच्च रहेको तथ्य प्रस्तुत गरे । सन् २०२० देखि २०२५ सम्म नेपालमा ३ करोडभन्दा बढी चट्याङका ‘स्ट्रोक’हरू अभिलेख गरिएको जानकारी दिँदै उनले प्रभावकारी पूर्वसूचना प्रणाली र जनचेतनाले मात्र यो क्षति न्यूनीकरण गर्न सकिने बताए ।

एसोसिएसन अफ इन्टरनेसनल एनजिओज इन नेपालका अध्यक्ष डा. एसपी कलाउनेले बढ्दो सहरीकरण र वातावरणीय जोखिमले विपद् व्यवस्थापन जटिल बन्दै गएको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय संस्थाहरूले अहिले पूर्वतयारी र पुनस्र्थापनाका क्षेत्रमा लगानी बढाइरहेको र समुदायलाई नै केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

डिपीनेट नेपालले विगत ३० वर्षदेखि नेपालमा विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था र विज्ञहरूलाई एउटै सञ्जालमा जोडेर नीतिगत र व्यवहारिक सुधारका लागि काम गर्दै आएको छ ।