संसद्‌मा विपक्षीको नयाँ शैलीको अवरोध : सहिदका नाममा ५ मिनेट ‘मौनधारण’

काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले अवरोध जारी राखेका छन्। विनियोजन विधेयक र आश्रित विधेयकहरूमाथि छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलको नयाँ शैलीको विरोध र नाराबाजीका कारण संसद् अगाडि बढ्न सकेन।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका विभिन्न सांसदहरूलाई बोल्ने समय उपलब्ध गराएका थिए।

सभामुखबाट समय पाएपछि नेपाली कांग्रेसका सांसद निस्कल राईले रोष्ट्रमबाटै एउटा फरक प्रस्ताव राखे। उनले लोकतन्त्र, गणतन्त्र र पछिल्लो समय भएको ‘जेनजी विद्रोह’का क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको सम्मानमा ५ मिनेट मौनधारण गर्न आग्रह गरे।
“प्रजातन्त्र र नागरिक सर्वोच्चताका लागि भएका विभिन्न आन्दोलन तथा सुशासनका लागि भएको जेनजी विद्रोहका सहिदहरूप्रति सम्मान प्रकट गर्दै हामी सदस्यहरू ५ मिनेट उभिएर मौनधारण गर्नेछौँ,” सांसद राईले भने। उनको प्रस्ताव लगत्तै कांग्रेसका सबै सांसदहरू उभिए भने अन्य प्रतिपक्षी दलका सांसदहरूले पनि समर्थन जनाउँदै मौनधारण गरेका थिए।

विपक्षी सांसदहरूले आफ्नै ढङ्गले मौनधारण गरेपछि सभामुख डोलप्रसाद अर्यालले यसलाई ‘सभामाथिको अपमान’ भन्दै टिप्पणी गरे। उनले सदनको कार्यविधि सभामुखको निर्देशनमा चल्ने स्मरण गराउँदै सांसद आफैँले समय तोकेर मौनधारण गराउनु संसदीय गरिमा विपरीत भएको बताए।

“प्रतिनिधिसभाको बैठक सभामुखले सञ्चालन गर्ने हो,” सभामुख अर्यालले भने, “सदस्य स्वयंले समय तोकेर मौनधारण गर्नु र गराउने अभ्यास पूर्णतः गलत र संसदीय मर्यादाविपरीत छ।”

आजको बैठकमा एमालेका क्षितिज थेबे, नेकपाका महेन्द्रबहादुर शाही, राप्रपाकी खुश्बु ओली र श्रम संस्कृति पार्टीका हर्कराज राईले पनि बोलेका थिए। उनीहरूले सरकारको कार्यशैली, करका दरमा भएको भनिएको हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै सदन अवरुद्ध पारेका हुन्।

विपक्षीको अवरोधका कारण विनियोजन विधेयकमाथि हुने भनिएको नियमित छलफल प्रभावित भएको छ। सभामुखले पटक–पटक सदन सुचारु गर्न आग्रह गरे पनि विपक्षीले आफ्नो माग पूरा नभएसम्म अवरोध कायमै राख्ने चेतावनी दिएका छन्।