अपरिपक्व निर्णयकाे चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्य क्षेत्रकाे करबाट पछि हट्याे सरकार
काठमाडौँ, ५ साउन । सर्वसाधारण नागरिककाे दैनिकीमा प्रत्यक्ष असर पर्ने सरकारकाे कर नीतिकाे चौतर्फी विरोध भएपछि सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत ‘समता शुल्क’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको समता शुल्क सामाजिक सञ्जालमार्फत लागू नगर्ने निर्णय गरिएको जानकारी दिनुभएको हो।
प्रधानमन्त्री शाहले यो शुल्क तत्काल कार्यान्वयन गर्दा आम नागरिकमा थप आर्थिक भार पर्ने र निराशा व्यहोर्नुपर्ने अवस्था देखिएकाले निर्णय पुनरावलोकन गरिएको सञ्जालमार्फत बताउनुभयो। सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिने उल्लेख गर्दै उहाँले कुनै पनि निर्णयप्रति नागरिक असन्तुष्टि रहेमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैँ तयार रहने स्पष्ट पार्नुभयो।