लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन सुरु
काठमाडौँ, १२ साउन । लघुवित्त तथा वित्तीय संस्थाहरूबाट पीडित बनेकाहरूको एक समूहले आफ्ना मागहरू सम्बोधनका लागि सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौँको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको छ ।
यसअघि लघुवित्त पीडितहरूको एउटा समूहले सरकारसँग वार्ता गरी आन्दोलन स्थगित गरे पनि अर्को पक्षले भने आफूहरूले अझै न्याय नपाएको भन्दै आजदेखि अनशन सुरु गरेको हो । सरकारसँग विगतमा भएका सहमतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।
लघुवित्त संस्थाविरुद्धको सङ्घर्ष समितिका अनुसार ग्रामीण तथा सहरी क्षेत्रका विपन्न किसान र मजदुरहरू चर्को ब्याजदर, चक्रवृद्धि ब्याज, धितो लिलामी र गैरकानुनी असुलीका कारण निकै मर्कामा परेका छन् । “सरकारसँग भएका सम्झौताहरू व्यवहारमा लागू भएनन्, हामीलाई बाध्य भएर आमरण अनशनमा बस्नुपर्ने अवस्था आयो,” समितिका एक प्रतिनिधिले बताए ।
सङ्घर्ष समितिले राज्यले औपचारिक रूपमा आफ्ना मागहरू सम्बोधन नगरेसम्म अनशन र आन्दोलनका अन्य कार्यक्रमहरू जारी राख्ने चेतावनी दिएको छ । पीडितहरूले ऋण मिनाहा, कर्जाको ब्याज नियन्त्रण र लघुवित्तका सञ्चालकहरूमाथि कारबाही हुनुपर्ने माग राख्दै आएका छन् । अनशनस्थलमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।