भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी चलाउन रोक
धादिङ, ८ असोज । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमन पूर्णरूपमा बन्द गरेको छ।
जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार बुधबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द गरिएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा जारी सूचनामा यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
त्यस्तै, जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न प्रशासनले अनुरोध गरेको छ।
वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले यात्रु तथा चालकलाई वैकल्पिक यात्रा योजना बनाउनसमेत प्रशासनले आग्रह गरेको छ।
