मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
‘दशहरा’ पर्व
काठमाडौँ, असोज २५ । नेपालीको प्रमुख चाड बडादसैँ सुरु भएसँगै महोत्तरीसहित मिथिला क्षेत्रमा ‘दशहरा’ पर्वको चहलपहल बढेको छ । शारदीय नवरात्रको पहिलो दिन आज घटस्थापनाका लागि देवी शक्तिपीठ, मन्दिर तथा घरघरमा पूजाआराधनाको तयारी गरिएको छ भने विभिन्न स्थानमा दुर्गा प्रतिमा निर्माण गरी मेला आयोजनाको तयारी तीव्र पारिएको छ ।
मैथिल समुदायमा ‘दशहरा’ नामले परिचित शारदीय नवरात्रका अवसरमा मिथिला क्षेत्रका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि धार्मिक गतिविधि सुरु भएका छन् । देवी दुर्गाको महिमासम्बन्धी भजन तथा मङ्गलधुनले धार्मिक स्थल र बस्तीमा पर्वको रौनक बढाएको छ ।
मैथिल परम्परामा देवी दुर्गाको आराधना गरिने दुई नवरात्र प्रचलनमा छन् । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइने नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइनेलाई वासन्ती नवरात्र भनिन्छ । दुवै नवरात्रको परम्परा रहे पनि मिथिला क्षेत्रमा ‘दशहरा’ भन्नाले मुख्यतः शारदीय नवरात्रलाई बुझिने मैथिली संस्कृतिविद् तथा अवकाशप्राप्त सहप्राध्यापक ध्रुव रायले बताउनुभयो ।
शारदीय नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ तथा मन्दिरमा घटस्थापनाका लागि कलशयात्राको तयारी गरिएको छ । धार्मिक महत्वका नदी, तलाउ तथा जलाशयबाट कन्याकुमारीहरूले नयाँ र शुद्ध घडामा पवित्र जल ल्याएर देवी प्रतिमा र मन्दिर परिसरमा सिञ्चन गर्ने तथा कलश स्थापना गरी घटस्थापना विधि सम्पन्न गर्ने परम्परा छ ।
महोत्तरीका औरही–७ भोइलस्थित सोनासती अर्थात् सोनामाई स्थान, बर्दिबास–४ स्थित पञ्चधुरा माईस्थान, जलेश्वर–१ स्थित सन्सारी माई तथा राजदेवी मन्दिरमा विशेष धार्मिक गतिविधि सञ्चालन हुँदैछन् । ती शक्तिपीठमा एक हजार आठ कन्याले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड र भार्गवसरलगायतका धार्मिक जलाशयबाट पवित्र जल ल्याएर कलशयात्रामार्फत मन्दिर परिसरमा पुर्याउने तयारी गरिएको छ ।
घटस्थापनाका अवसरमा मन्दिर तथा घरघरमा जौँ, तिल, गहुँ, धान र मकैसहितको जमरा राख्ने परम्परा छ । यस वर्ष तिथिको घटबढका कारण नवरात्र १० दिनको हुने र आज सुरु भएको नवरात्र आगामी कात्तिक ३ गतेसम्म रहने मिथिला पञ्चाङ्ग तथा विद्यापति पञ्चाङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा चाडपर्व, विवाहका लग्न तथा शुभमुहूर्त निर्धारण गर्न यी पञ्चाङ्गको प्रयोग गर्ने चलन छ ।
महोत्तरीमा यस वर्ष करिब ४० स्थानमा दुर्गामेला आयोजना हुँदैछन् । सोनामाई, जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र सीतापुरबजारका दुर्गामेला विशेष मानिन्छन् । पर्वका अवसरमा जिल्लाका विभिन्न गाउँ तथा नगरमा देवी दुर्गाका प्रतिमा निर्माण गरिएका छन् । दशहरा सुरु भएसँगै गाउँबस्तीमा लिङ्गे पिङ निर्माणको तयारी पनि भइरहेको छ ।
मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई र सोनामाई, सप्तरीका सकरा भगवती, कङ्कालिनी माई र छिन्नमस्ता तथा जनकपुरधामको राजदेवी मन्दिर र बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन् । मैथिल हिन्दू परम्पराअनुसार नवरात्रभर घरघरमा देवी दुर्गाको पूजाआराधना र चण्डीपाठ गरिन्छ ।
नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । दशमीका दिन देवीको पूजाआराधना विसर्जन गरी प्रसादस्वरूप जमरा ग्रहण गरेपछि शारदीय नवरात्र सम्पन्न हुने मैथिल परम्परा छ ।
पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन महोत्तरीमा जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना लागू गरेको छ । सो योजनाअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित एक हजार ३३१ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने दशहरा पर्वसँग देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरलगायतका राक्षसको संहार गर्नुभएको धार्मिक प्रसङ्ग जोडिएको छ । देवीभागवतमा वर्णित उक्त प्रसङ्गअनुसार नवरात्रमा देवीको उपासनाले मन, वचन र कर्ममा शुद्धता आउने तथा सत्कर्म, सद्विचार र सदाचारमा प्रेरणा मिल्ने धार्मिक विश्वास रहेको छ ।
