बाजुरामा अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइँदै

बाजुरा, १६ कात्तिक । बाजुरामा वर्षौंदेखि अलपत्र बूढीगङ्गा नदीमाथिको मौरे पुल र ठूलीसाँघु खोलाको पुल निर्माणको ठेक्का रद्द गरी पुनः निर्माण प्रक्रिया अघि बढाइएको छ ।

महाकाली पुल योजना कार्यालय, महेन्द्रनगरले काठमाडौंस्थित बिकोई बिल्डर्स प्रालिलाई दुवै पुल निर्माणको जिम्मा दिएको थियो । निर्धारित समयभित्र काम सुरु नगरेपछि ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको थियो ।

ठेक्का विवाद अदालत पुगेकोमा २०८३ साउनमा योजना कार्यालयकै पक्षमा फैसला भएपछि निर्माणको बाटो खुलेको महाकाली पुल परियोजनाका सूचना अधिकारी रवि शाहले बताउनुभयो ।

मौरे पुल निर्माण नहुँदा वर्षायाममा बूढीगङ्गा र त्रिवेणी नगरपालिकाको आवागमन अवरुद्ध हुने गरेको छ । पुल निर्माणले बडीमालिका क्षेत्रको धार्मिक तथा पर्यटकीय आवागमनसमेत सहज हुने त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले बताउनुभयो ।

त्यस्तै, ठूलीसाँघु खोलामा पुल नहुँदा गौमूल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकले वर्षायाममा सास्ती खेप्दै आएका छन् ।

जिल्लामा सडक तथा पुल निर्माणका आयोजना ठेक्का सम्झौता भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र पर्ने समस्या बढ्दो छ । गत आर्थिक वर्ष २०८२/८३ मा मार्तडी–कोल्टी सडकका लागि विनियोजित २० करोड र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि छुट्याइएको १३ करोड ५० लाख रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको थियो ।

विकास आयोजना समयमै सम्पन्न नहुँदा यातायात, स्वास्थ्य, शिक्षा तथा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउनसमेत कठिनाइ भएको छ । अधुरा आयोजना सम्पन्न गर्न नियमित अनुगमन र निर्माण व्यवसायीलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *