केपी ओलीले ‘चेली’ भन्दै ठेलामा पोलेको मकै खानुभयो, पूर्वप्रधानमन्त्रीले पेशाको सम्मान गर्दा सीताको मुहारमा खुशी छचल्कियो

काठमाडौं, २७ फागुन । पाँच–छ वर्षदेखि बालकोटमा ठेलागाडामा मौसम अनुसारका फलफुल, मकै, सागसब्जीलगायत राखेर व्यवसाय गर्दै आउनु भएकी सीता गिरीका लागि फागुन २६ गतेको शुक्रबार सम्झनलायक दिन बनिदियो ।

उहाँको ठेलागाडा नजिककैको बाटो गर्दै दैनिक सयौँ सवारी ओहोर–दोहोर गर्छन् । नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दैनिक ओहोर–दोहोर गर्ने बाटो पनि त्यहि हो । सधैँ त्यहिबाटो गरेर ओहोर–दोहोर गर्ने ओलीले यसरी आफ्नो ठेलागाडा अघि उभिँएर आफ्नै हातले पोलेको मकै खानुहोला भन्ने गिरीले सपनामा पनि सोच्नु भएको थिएन । शुक्रबार उहाँको ठेला अघि बा १८ च ४८४५ नम्बरको सेतो गाडी टक्क रोकिदाँसम्म पनि गिरी आफ्नै लयमा मकै पोलिरहनु भएको थियो । आफ्नै अघि रोकिएको सेतो गाडीबाट भादगाउँले टोपीसहित दौरा–सुरुवाल र कोटमा सजिनु भएका ओली ओर्लिदा गिरी एकछिन अलमलमा पर्नुभयो । टेलिभिजनमा धेरै पटक देखिएको अनुहार आफ्नै अघि उँभिदा गिरीलाई उहाँ केपी ओली हो भन्ने चिन्न मुस्किल परेन ।

‘एकछिन म अलमलमा परेँ,’ शुक्रबारको घटना सम्झिदैँ गिरीले भन्नुभयो, ‘खुशी लाग्यो नि, कति धेरै खुशी लाग्यो । उहाँ जस्तो मान्छे हाम्रोमा आएर मकै खाइदिदाँ धेरै खुशी लाग्यो नि ?’
उहाँको ठेला नजिक आएर ‘चेली मकै कस्तो छ ?’ भन्दा गिरीको खुशी एकाएक छचल्किएछ । ‘उहाँ आउनु भयो । चेली मकै कस्तो छ ? भन्नुभयो । दुई ओटा मकै लिनुभयो,’ निकै उत्साहित हुँदै गिरीले भन्नुभयो, ‘पैसा एक हजार रुपैँया दिनुभयो अनि नानीलाई सहयोग दिएको फिर्ता दिनुपर्दैन भन्नुभयो ।’

प्रति घोगा ३५ रुपैयाँमा बेच्दै आउनु भएकी गिरीलाई ओलीले दुई घोगाको एक हजार दिएपछि उहाँको मुहारमा पनि निकै ठूलो खुशी छाएछ । ‘उहाँ मेरो पसलमा आउनु नै ठूलो कुरा हो । अझ ७० रुपैयाँको मकै खाएर एक हजार दिनुभयो । त्यसै खुशी भएँ नि,’ उहाँले भन्नुभयो, ‘म उहाँलाई धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’

भक्तपुरसँगै जोडिएको काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाले ठेला व्यवसाय सञ्चालन गर्नेहरुको उठिवास लगाइरहेका बेला यसरी देशको पूर्वप्रधानमन्त्रीले ठेला व्यवसायको प्रोत्साहनका लागि देखाएको सद्भाव आफैँ पनि उल्लेख्य छ । गिरीले देशको पूर्वप्रधानमन्त्रीले आफ्नो पेशाको समेत सम्मान गरेको अनुभूति गर्नुभएको रहेछ । ‘उहाँले दुई घोगा मकै मात्रै खानु भएको होइन, हाम्रो पेशाको पनि सम्मान गर्नुभएको हो,’ उहाँले भन्नुभयो, ‘म धेरै खुशी छु ।’

सामाजिक सञ्जालबारे बेखवर सीतालाई ओलीले आफ्नो सामाजिक सञ्जालमा उहाँको ठेलागाडामा आएर मकै खाएको तस्बिर राखेको देखाउँदा थप खुशी हुनुभयो । ओलीले त्यहाँ पोलेको मकै खाएको सन्दर्भलाई सामाजिक सञ्जालमा तस्बिरसहित राख्दै यस्तो लेख्नुभएको थियो– ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’

उक्त स्ट्याटसमा ३९ हजार बढीले लाइक गरेका छन् भने करीब ४ हजारले कमेण्ट गरेका छन् । ८ सय ५० बढीले सेयर गरेका छन् ।