गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री लेखक
डोटी, २४ फागुन । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । अछाममा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न जाने क्रममा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
“गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन,” उहाँले भन्नुभयो। लोकतन्त्रका विरुद्धमा भइरहेका गतिविधि गर्न पनि लोकतन्त्रले नै छुट दिएको उहाँको भनाइ थियो । पूर्वराजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न उहाँले चुनौती दिनुभयो ।
संविधान संशोधनका विषयमा गृहकार्य भइरहेको जानकारी दिँदै गृहमन्त्री लेखकले सरकार गठनपूर्व नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको समझदारी अनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने बताउनुभयो ।